अर्जुन खनाल, स्याङ्जा, १० जेठ । भनिन्छ बाटो बिराएको खोला पनि १२ वर्षपछि फर्किन्छ तर कालीगण्डकी नदीमा बन्न लागेको पुल भने १२ वर्षसम्म पनि स...
अर्जुन खनाल, स्याङ्जा, १० जेठ । भनिन्छ बाटो बिराएको खोला पनि १२ वर्षपछि फर्किन्छ तर कालीगण्डकी नदीमा बन्न लागेको पुल भने १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । कालीगण्डकी नदीमा लामो समयदेखि प्राविधिक समस्या देखाई रोकिएको पुलको काम पुनः सुरु भएको दुई महिना नहुँदै रोकिएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका ९ निर्दिम र पाल्पाको रामपुर नगरपालिका ८ भुजात जोड्ने कालीगण्डकी नदीमा बन्न लागेको मोटरेवल पुलको निर्माण कार्य रोकिएको हो ।
रु १७ करोडको लागतमा २०६६÷६७ मा निर्माण शुरु गरी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण कार्य रोकिएर २०७७ मङ्सिरमा पुनः सम्झौता नवीकरण भएको थियो । २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको पुल २०७८ असोजसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले निर्माण कार्यलाई अगाडि बढाएको थियो ।
पहिले जमिनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको थियो ।
ठेकेदारको लापरवाहीका कारण रोकिएको पुल फागुनदेखि निर्माण कार्य पुनः थालिएपछि पुल बन्ने आशा पलाएकोमा एक हप्तादेखि रोकिएपछि निर्माण अलपत्र बन्ने आशंका बढेको स्थानीयले बताएका छन् ।
ठेकेदारले काम भएजस्तो देखाएर फोटो खिचेर पैसा मात्रै दावी गर्न खोजेको आरोप स्थानीयले लगाएका छन् । उनीहरुले भने, वर्षात्को समयअगाडि पायल गर्ने काम गरेर ठेकेदारले छाड्न खोज्दैछन् । समय हुँदा ५–१० जना मात्रै कामदारहरुलाई काममा लगाएका थिए अहिले त त्यही कामदार पनि छैनन् । सुन्दैछौँ अहिले उहाँले कामदार खोज्दै हिड्नु भएको छ ।
कम्पनीका ठेकेदार यम बहादुर श्रेष्ठले निषेधाज्ञाले गर्दा बाटो बन्द भएको हुँदा पायल टेष्ट गर्ने मेसिन ल्याउन नपाउँदा काम रोकिएको बताउनुभयो ।
निषेधाज्ञाको समयमा विकास निर्माणको काममा सरकारले सहजीकरण गरेको छ नि भनेर गरेको प्रश्नमा, नगरपालिकाको कार्यालय पनि बन्द रहेको र पास बनाउन जिल्ला जानुपर्ने हुँदा जान पाएको छैन, श्रेष्ठले भन्नुभयो ।
बागलुङमा पायलको काम भइरहको मेसिनले एक हप्तामा काम सक्छ होला, त्यसपछि त्यो मेसिन ल्याउने कि भनेर कुरा हुँदैछ श्रेष्ठले भन्नुभयो, त्यसपछि नदीमा बाँधेको बाँधमा पानीले कुनै असर गरेन भने काम शुरु गर्छौँ ।
चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाले विकास निर्माणको काममा नगरपालिकाले सहजीकरण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले विकास निर्माणको काममा अप्ठोरो नहोस् भने ठेकेदारहरुलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गरिरहेका छौँ ।
पुल उपभोक्ता समितिका अध्यक्ष हरी पंगेनीले भने निर्माण सामग्रीहरु उपलब्ध नभएर काम रोकिएको बताउनुभयो । एक ट्रक रड काम गर्नको लागि ठकेदारले ल्याउनु भएको छ, भन्दै अध्यक्ष पंगेनीले भन्नुभयो, कामदार खोज्ने काम भइरहेको छ । सम्भवतः तीन चार दिनपछि १०–१५ जना ल्याएर रड बुन्ने काम गर्न शुरु हुन्छ ।
डिजाइन स्वीकृत भएर पुलको काम निर्माण थलिए पनि अहिले पायल टेष्ट गर्न नपाएर काम रोकिएको कुरा ठेकेदार बताएको भन्दै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले कालीगण्डकी खबरसँग भन्नुभयो, २–४ दिन भित्र पायल टेष्ट गर्न पाए त असारसम्म जमिनमुनिको काम सकिन्छ कि ? नसकेमा पायल टेष्टबाहेक अरु काम हुँदैन होला । पायल टेष्टको काम त दुई दिनमा सकिन्छ । असोजसम्म सम्पन्न गर्नुपर्ने उक्त योजना २०७९ को बैशाख जेठभन्दा अगाडि सकिन्छ जस्तो लागेको छैन । पर्खाल उठाएपछि धेरै कामदारहरु राखेर काम गरेमा तीन महिना काम सकिन्छ । सबै काम पर्खालले रोकिएको छ ।
एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुलको स्याङ्जा पाल्पातर्फ एक÷एक वटा पर्खाल तीन चार वर्ष पहिलै बने पनि बीचको एउटा अहिलेसम्म बन्न सकेको छैन ।
समयमै पुल निर्माण सम्पन्न नहुँदा आवतजावत मात्रै नभएर स्थानीय उत्पादनको बजारीकरणदेखि लिएर लामो तथा मध्यम दूरीका यातायातमा समेत प्रभाव परेको छ ।