स्याङ्जा, ६ साउन । चापाकोट नगरपालिकाले सडक किनारमा फलफुलको विरुवा रोप्ने अभियानलाई तीब्रता दिएको छ । चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०।...
चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा हरियाली चापाकोट बनाउने योजना अनुसार सडक छेउछाउमा फलफुलको विरुवा रोप्ने अभियानलाई तीब्रता दिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र खनालले बताउनुभयो ।
छितेखोलादेखि सुन्तौलिटार बजारको विपि चोकसम्म शनिबार मात्रै कुवाकोट सव डिभिजन वन कार्यालयबाट ल्याइएका करिब एक हजार अमला, कलकि, गुल्मेर र पारिजातको विरुवा रोपेको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाई छ ।
उहाँले भन्नुभयो, “मुख्य सडकमा लगाइसकेपछि नगरपालिकाभित्रका आन्तरिक सडकमा पनि फलफुलको विरुवा लगाउने योजना बनाएका छौँ । यो वर्ष आधिँघाटदेखि दामाचौरसम्म चार हजार विरुवा लगाउँछौ ।”
चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (इश्वर) ले पालिका भित्रका सडक किनारमा फुल र कृषकको घर घरमा फलफूलको विरुवा लगाउने अभियानलाई पाँच वर्षसम्म निरन्तर दिने बताउनुभयो ।
छितेखोलादेखि आधिँघाटसम्म र कृष्णपुरदेखि दामाचौरसम्म भोलि र पर्सी गरेर फलफूलको विरुवा लगाउने नगरप्रमुख खाँणको भनाई छ ।
सडक छेउछाउमा फूलको विरुवा यो हप्ताभरी लगाउने र त्यस लगत्तै विरुवालाई संरक्षण गर्न बाँसले बेरबार गर्ने र मल हालेर गोडमेलको अभियान चलाउने नगरप्रमुख खाँणले बताउनुभयो ।
फलफूलको विरुवा रोप्ने कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
विपि स्मृति दिवसको अवसरमा वृक्षारोपण
नेपाली काँग्रेस चापाकोटले ४१ औँ विपि स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरी मनाइएको छ । विपि स्मृति दिवसको अवसरमा आज नेत्र स्मृति प्रतिष्ठानको वरपर फलफूलको विरुवा रोपिएको नेपाली काँग्रेस चापाकोटका नगर सभापति विक्रम सारुले जानकारी दिनुभयो ।