पाल्पा – जिल्लाभरि नै डढेलोको लाग्ने क्रम बढेको छ । पछिल्लो समय खडेरीका कारण जिल्लाभरि नै डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरका सामुदा...
निभाउने प्रयास भएपनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाई छ । हुवाहुरीसँगै डढेलो पनि तीव्र गतिमा बस्ती भएका क्षेत्रमा पुगेको र निभाउन स्थानीय बासिन्दालाई सकस भएको छ । डढेलो निभाउन स्थानीय बासिन्दाले स्याउला, सोत्तर, दाँते, उपलब्ध भए पानीको प्रयोग गर्दै आएका छन् ।
केही दिनयता जिल्लाभरका वनमा डढेलो लागेको लाग्यै छ तर नियन्त्रण ल्याउन समस्या भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । यस पटक विगतको तुलनामा डढेलो अत्याधिक बढेको डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले बताउनुभयो । ‘गत वर्षको तुलनामा यस वर्ष डढेलो अत्याधिक बढेको छ उहाँले भन्नुभयो यस पटक पहिले डढेलो नलाग्ने स्थानमा पनि घटना भएका छन् ।’
जताततै डढेलो लागेपछि बस्ती जोगाउन स्थानीय बासिन्दा र डढेलो नियन्त्रण टोलीलाई अप्ठेरो परेको छ । ‘जताततै डढेलो लागेपछि बस्ती जोगाउनतिरै लाग्नुपर्ने अवस्था छ, वन जोगाउनै सकिएको छैन डिभिजन वन कार्यालयका टास्क फोर्स प्रमुख उपेन्द्र अर्यालले भन्नुभयो ।’ डढेलो प्राय चुरे तथा उच्च पहाडी क्षेत्रमा लागेकाले निभाउन पानीको अभाव भएको उहाँले बताउनुभयो । यसका साथै खोच तथा पहाडका अप्ठेरो स्थानमा निभिसकेको आगो पुन सल्कने गरेको उहाँले बताउनुभयो ।
तानसेन र तिनाउ गाउँपालिकाका सामुदायिक वनमा सबैभन्दा बढी आगलागी भएको छ । रैनादेवी छहरा, रिव्दीकोटको विभिन्न स्थानमा डढेलो लागेको छ । यस्तै माथागढी, पूर्वखोला, रामपुर, रम्भा, तानसेनमा गरी ६० स्थानमा आगालगीका घटना भएको छ । गत वर्ष आगलागी हुने अबधिमा पाँच स्थानमा मात्र डढेलो लागेको थियो ।
डढेलो नियन्त्रण गर्न आवश्यक उपकरण, दमकल नहुँदा आगलागी नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय डढेलो नियन्त्रण टोलीले जनाएको छ । उपभोक्ताले सोत्तर, स्याउला, दाँतेको सहयोगमा आगो निभाउने प्रसास गरिरहेका छन् । पछिल्लो समय बाँदर, दुम्सी तथा अन्य वन्यजस्तुको समस्याबाट पीडित बनेका उपभोक्ताले जानाजान आगलागी गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यो वर्ष पहिले डढेलो नलाग्ने स्थानमा पनि डढेलोका घटना भइरहेको प्रहरीले जनाएको छ । वन्यजन्तुको आक्रमणबाट बच्न डढेलोका घटना स्थानीय बासिन्दाबाटै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले आशंका गर्नुभयो । यस पटक धेरै स्थानमा आगलागी भएकाले डढेलो नियन्त्रणमा प्रहरीले अनावश्यक समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।