सुनिल न्यौपाने,स्याङ्जा- चापाकोटका चन्द्र बहादुर खाम्चा विगत २ बर्षदेखि चापाकोटमा करातेको विकासका लागि स्वयंसेवीका रूपमा दिनरात खट्दै आएका छ...
सुनिल न्यौपाने,स्याङ्जा- चापाकोटका चन्द्र बहादुर खाम्चा विगत २ बर्षदेखि चापाकोटमा करातेको विकासका लागि स्वयंसेवीका रूपमा दिनरात खट्दै आएका छन् । नेपालको खेलकुदको विकासमा स्वतः स्फूर्तरूपमा योगदान गर्नेहरू मध्यका एक ब्यक्ति खाम्चा पनि हुन।
उनले विगत २ बर्षदेखि निरन्तर रूपमा चापाकोट नगरपालिका आसपासका क्षेत्रका सयौं बालबालिका तथा किशोर किशोरीलाई कराँते खेल सिकाउदै आएका छन् । हाल उनले बिहान र साँझको सत्रमा गरी करिब सय जनालाई नियमित रूपमा प्रशिक्षण दिँदै आइरहेका छन् । उनको दैनिकी बिहान चापाकोट नगरपालिका ९ सुन्तलीटारमा रहेको चौरमा गएर त्यहा आएका खेलाडीहरुलाई कराते सिकाएर सुरु हुने गरेको छ । कराते मेरो लागि जीवन जिउने कला नै बनेको छ,गोजु-रियो कराँते संघ स्याङ्जाका उपाध्यक्षसमेत रहेका खाम्चा भन्छन्,“बालबालिकालाई कराते सिकाएर जुन आत्मासन्तुष्टि पाउँछु,त्यो अन्त कतै पाउँदिन । खाम्चा एसियन गोजु-रियो कराते संगठनले आयोजना गरेको प्रतियोगितामा तेस्रो समेत भएका थिए।
कराते खेलको लागि खेलाडीसँग पोशाकको र सामान्य शुल्क बाहेक मैले केही लिएको छैन।”प्रशिक्षक खाम्चाले भने, ज्यानले भ्याएसम्म यसपछिका दिनमा पनि प्रशिक्षण दिइरहने उनले बताए । उनी भन्छन्, यतिका वर्ष त सिकाए अब के पछि हट्नु ? बालबालिकाको खुशी र जित नै मेरो कमाइ हो । हाल उनको कराते प्रशिक्षण चापाकोट नगरपालिका भित्र ४ स्थानमा सञ्चालित छ ।
चापाकोटमा रहेको सुन्तलीटार चौरमा भने खाम्चा आफैले प्रशिक्षण दिन्छन् भने अन्य स्थानमा उनले सिकाएका उनका चेलाहरूले प्रशिक्षण दिइरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले जिल्लामा कराते खेलका लागि प्रशिक्षकको दरबन्दी दिएको छैन् । दरबन्दी र तलब नभएपनि करातेको विकासको लागि स्वयंसेवी रूपमा लागेका खाम्चाको राज्यले पनि कदर गर्नुपर्ने स्थानिय सतिस परियार बताउँछन् ।
यसरी खेलकुदको विकासका लागि निःस्वार्थ रूपमा लाग्ने मान्छेलाई हालसम्म राज्यले उचित कदर गर्न नसकेकोमा परियाले गुनासो व्यक्त गरे । जिल्लामा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक नभए पनि खाम्चाले उत्पादन गरेका चापाकोटका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिने मौका समेत प्राप्त गरेका छन् । उनले सिकाएका धेरै खेलाडी अहिले स्वयं गुरु बनेर अरूलाई सिकाइरहेका छन् ।
उनले राष्ट्रिय खेलकुद परिषद् तथा कराते महासंघको सहयोग बिनै आफ्नो व्यक्तिगत पहलमा चापाकोट मै पहिलो पटक यहाँका खेलाडीलाई प्रशिक्षण लिने व्यवस्था मिलाएका हुन्। एसियाका विभिन्न देशमा भएका प्रतियोगितामा समेत उनले सिकाएका उनका चेलाहरूलाई सहभागी गराएर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।
कराते खेलमा लागेपछि बालबालिका ब्यस्त हुने र अनुसासनमा बस्ने भएकाले यो खेलप्रति अभिभावकको आकर्षक समेत बढेको छ। यो आत्मरक्षाका लागि खेलिने खेल रहेकोले यसमा सबैको रुचि बढेको देखिन्छ। चापाकोट नगरपालिका वडा न.९ कार्यालयले खेलाडीलाई खेलकुद सामाग्री उपलब्ध गराउने उदेश्यले २१ हजार रुपैया नगद सहयोग गरेको खाम्चाले बताएका छन।