स्याङ्जा, १४ जेठ । नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणले देशलाई नै यतिवेला संकटमा पारिरहेको छ । केन्द्रदेखि स्थानीय सरकारसम्म यो रोगविरुद्ध...
स्याङ्जा, १४ जेठ ।
नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणले देशलाई नै यतिवेला संकटमा पारिरहेको छ । केन्द्रदेखि स्थानीय सरकारसम्म यो रोगविरुद्ध लडिरहेका छन् । नियन्त्रण रोकथाममा यसपटक स्थानीय सरकारले गरेको भुमिका अत्यान्तै उत्कृष्ट रहेको पाइएको छ । कोरोना संक्रमणको हिसावले स्याङ्जा जिल्ला गण्डकी प्रदेशमा तेस्रो स्थानमा छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार जेठ १२ गते सम्म स्याङ्जा जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ८१ पुगेको छ । जस मध्ये कोरोना संक्रमण मुक्त भएका १ हजार ५ सय ३७ रहेका छन् भने हाल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६३ रहेको छ । कोरोना संक्रमणका कारण जिल्लामा मृत्यू हुनेको संख्या ८१ पुगेको छ । प्रदेशको तथ्यांक अनुसार स्याङ्जाको मृत्यूदर अन्य जिल्लाको तुलनामा वढी रहेको छ ।
संक्रमण वढेसंगै जिल्लाका पालिकाहरु संक्रमण नियन्त्रण र रोकथामका लागि आइसोलेशन, अक्सिजन र विरामीहरुका लागि अस्पताल सम्म लैजाने ल्याउने व्यवस्थापनका लागि जुटिरहेका देखिन्छन् ।
समुदाय स्तरमा संक्रमण फैलिएसंगै दैनिक जसो विरामीहरु नगरपालिकाको सम्पर्कमा आउन थालेका छन् । नगरपालिकाले संक्रमितको पहिचान र संक्रमण पुष्टी भएकालाई अलग गर्ने लक्षण सहितका विरामीलाई स्वास्थ्यकर्मीको नियमित निगरानीमा राखिएको छ ।
नगरपालिकाले कोरोना संक्रमणवाट अक्सिजनको लेवल घटेर गम्भीर विरामीलाई नगरपालिकाले व्यवस्था गरेको आइसोलेशनमा ल्याउन र यहाँ सम्भव नभएका विरामीलाई सुविधा सम्पन्न अस्पताल सम्म पुर्याउनका लागि दुईवटा एम्वुलेन्स मार्फत निशुल्क सेवा दिने व्यवस्था गरेको छ ।
नगरपालिकाले वडा नम्बर ८ स्थित आयुर्वेदिक अस्पतालमा १० वटा अक्सिजन सहितको वेडको व्यवस्था गरेको छ । नगर पालिकाले व्यवस्था गरेको आइसोलेशनमा विरामीलाई निशुल्क खानाको व्यवस्था गरिएको समेत नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका सम्पूर्ण युनिट परिचालन गरी संक्रमण नियन्त्रण र रोकथामका लागि प्रयास गरिरहेको छ । संक्रमित भई आइसोलेसनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड लगायतका विषयमा सचेत गराइएको पालिकाले जनाएको छ । यसका अलवा संक्रमितलाई होम आइसोलेशनमा बस्दा खानुपर्ने औषधी, तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री समेत नगरपालिकाले व्यवस्था गरेको जनाएको छ ।
चापाकोट नगरपालिकाले यही जेठ १२ गते स्थानीय विपत व्यवस्थापनको वैठक बसी नगरपालिकाको विभिन्न वडामा समुदायस्तरमा संक्रमण फैलिएको र संक्रमणको गति वढ्दै जान थालेकोले नगरपालिका भित्रका बजार तथा अन्य सार्वजानिक स्थानहरुमा मानिसहरुको आवत जावतलाई थप कडाई गर्ने र तोकिएको समयमा मात्र तोकिएका पसल सन्चालन गर्न विज्ञप्ती प्रकाशित गरि नगरवासीमा आग्रह गरिएको छ ।
नगरपालिका भित्र सन्चालनमा रहेका बैक तथा वित्तिय संस्थाहरुलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पुरा गरी २५ प्रतिशत मात्र कर्मचारीवाट सेवा प्रवाह गर्न गराउन समेत आग्रह गरिएको छ ।
नगरपालिकाले संक्रमणको दर वढदै गइरहेकोले नगरवासीलाई धैर्य रहन, स्वास्थ्य संगठन, नेपाल सरकार र स्थानीय तहले जारी गरेको सूचना अनुरुप संक्रमण रोग लाग्नवाट बच्ने उपायको पालना गर्न अनावश्यक हिडडुल नगर्न र नियमित सावुन पानीले हात धुने, मास्क तथा सेनीटाइजरको प्रयोगलाई निरन्तरता दिई कोरोना संक्रमणवाट बच्न र बचाउन नगरवासीलाई अपिल गरिएको जनाएको छ ।