सुनिल न्यौपाने,स्याङ्जा - स्याङ्जाको चापाकोट नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण गरेको छ । चापाकोटका १० वटै वडाका...
सुनिल न्यौपाने,स्याङ्जा - स्याङ्जाको चापाकोट नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण गरेको छ ।
चापाकोटका १० वटै वडाका किसानहरूलाई उन्नत जातको धान उत्पादन गर्न धान बिउ वितरण गरिएको चापाकोट नगरपालिका कृषि शाखाले जनाएको छ।
नगरपालिकाले २५ मेट्रिकटन बीउ बितरण गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८ मेट्रिकटन बीउ वितरण गरिसकेको छ। गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।
चापाकोट नगरपालिकाका नगरप्रमुख देब बहादुर खाणले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताए।
गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा पच्चीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यवस्थापन गरेको नगरप्रमुख खाणले बताए । बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।
उक्त धान बिउ नगरक्षेत्रका कृषक र कृषक समूहलाई उन्नत जातको साबित्री, सावा मन्सुली, रामधान जातको धानको बिउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ ।
धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।