Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सरकारी सिफारिस लिन वडा कार्यालय धाउनै नपर्ने, यस्तो छ ई-सिफारिस सेवा

रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हु...


रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हुन्छ । यो सुविधा लिनका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । तर, रूपन्देहीको शुद्धोदन गाउँपालिकामा भने सेवाग्राहीहरू सिफारिस लिन वडा कार्यालय धाउनु पर्दैन ।


गाउँपालिकाले वडा वडामा उपलब्ध गराएको ई-सिफारिस सेवामार्फत उनीहरू घरबाटै सिफारिस माग गर्न सक्छन् । शुद्धोदन गाउँपालिकाका ई-सिफारिस संयोजक सरोज ढकालका अनुसार २०७९ को चैतदेखि ई-सिफारिस सेवा सुरु गरिएको हो । 


उनले भने, "घरमै बसेर लाभग्राहीले नाता प्रमाणीकरणका लागि फाराम भर्न सक्नु हुन्छ । त्यसपछि वडा सचिवलाई नोटिफिकेसन जान्छ । उहाँले फाराममा भएका कागजात ठीक छन् की छैनन् भनेर रुजु गर्नुहुन्छ । कुनै कागजात पुगेको छैन भने एपबाट नै सेवाग्राहीलाई सम्पर्क गर्नुहुन्छ । बाँकी आवश्यक कागजात पनि पुरा भएपछि एक दुई घण्टामा नै बन्छ । सिफारिस तयार भएपछि सिधै उहाँहरूको मोबाइलमा सिफारिस आउँछ ।”


स्थानीय तारा केसीले ई-सिफारिसका कारण धेरै सहज भएको बताइन् । कामको सिलसिलामा सहर वा विदेशमा रहेका व्यक्तिहरूले पनि अनलाइनबाट नै सिफारिस लिनसक्ने भएकाले निकै सहज भएको उनको भनाई छ । 


उनी भन्छिन्, “मोबाइल चलाएर नै सिफारिस लिन सकिने भएकाले पैसा र समयको पनि बचत भएको छ ।” मोबाइल एप प्रयोग गर्न नजान्ने नागरिकहरूलाई भने गाउँपालिकाले नै ई-सिफारिस सेवा उपलब्ध गराउँछ । यसका लागि गाउँपालिकाले वडा वडामा स्वयंसेवक राखेको छ । 


सिफारिस लिन वडामा पुगेका सेवाग्राहीहरू पनि एक पटक सिकेर गइसकेपछि धेरैजसोले अर्को पटकदेखि आफैले घरबाट नै फाराम भर्ने गरेको वडा नं ५ का स्वयंसेवक मनिष गैरे बताउँछन् । 

उनी भन्छन्, “ई-सिफारिस एउटा यस्तो अनलाइन प्लेटफर्म हो, जसबाट हामीले वडा कार्यालयबाट हुने हरेक कामहरू घरबाटै गर्न सकिन्छ । तर, यसको बारेमा धेरैले बुझ्नुभएको छैन ।”


स्थानीयलाई यस एपको बारेमा व्यापक रूपमा जानकारी दिन अति आवश्यक रहेको उनले बताए । “स्मार्ट पालिका एपबाट घरमै बसेर सिफारिसका लागि आवेदन दिन सकिन्छ भनेर जानकारी गराउनुपर्छ । त्यसमा डकुमेन्ट कसरी अट्याच गर्नुपर्छ भनेर सर्वसाधरणलाई जानकारी नहुन सक्छ । यस विषयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्छ,” उनले भने । सर्वसाधाणलाई ई-सिफारिस कसरी प्रयोग गर्ने भन्ने सिकाउनमा आफ्नो वडाले राम्रो काम गरिरहेको उनले बताए ।


पालिकालाई भौतिक कागजात रहित बनाउने उद्देश्य सहित शुद्धोदन गाउँपालिकामा ई-सिफारिस सेवा सुरु भएको हो । यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउन्डेसन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजना मार्फत यो सेवा गाउँपालिकामा उपलब्ध गराइएको हो । यसको लागि सेल एप नामक कम्पनीले एप व्यवस्थापनको काम गरिरहेको छ ।  


गाउँपालिकामा गएको ३० मङ्सिरदेखि हालसम्म दर्जनौँ सिफारिस पत्र ई-सिफारिस प्रणाली मार्फत नै उपलब्ध गराइएका छन् । इन्टरनेट सुविधाको अभाव र सेवाग्राहीहरू अनलाइन सेवामा अभ्यस्त नहुनु जस्ता समस्याका कारण केही स्थानहरूमा भने यो प्रणाली विस्तार गर्न समस्या भएको वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी बताउँछन् ।


तर पनि वडा कार्यालयबाट नागरिकलाई यसबारे सिकाउने र बुझाउने काम निरन्तर भइरहेको उनको भनाइ छ । उनी भन्छन्, “नेटवर्कको लागि वडा र गाउँपालिका मिलेर पहल गर्नुपर्छ । प्रत्येक वडामा कम्प्युटर सञ्चालनसँग सम्बन्धित सीप पनि दिइरहेका छौँ । यसले पनि ई-सिफारिसमा सहयोग पुर्‍याउन सक्छ भन्ने विश्वास लिएका छौँ ।”


ई-सिफारिस प्रणालीमा थप नागरिकलाई जोड्न जनचेतना दिने र तालिमहरू सञ्चालन गराउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल बताउँछन् । तर ई-सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुनका लागि अझै केही समय लाग्न सक्ने उनले बताए । 


उनले भने, “गाउँपालिकाभित्र रहेका ७२ ओटै टोल विकास समितिमा पुगेर ई-सिफारिस के हो र यसले कसरी काम गर्छ भन्ने जानकारी दिनुपर्छ । स्थानीयहरू मोबाइल तथा ल्यापटप चलाउन नसक्ने भएकाले पनि यसको विस्तारमा केही समस्या आएको छ ।”

धेरै पढीयको समाचार

Featured Post

चापाकोटमा तेस्रो कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक, व्यापार तथा खेलकुद महोत्सव हुने

  चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो चापाकोट कृषि, पर्यटन, सांस्कृतिक, औद्योगिक, व्यापार तथा खेलकुद महोत्सव–२०८२ यही पुस २५ गतेदेख...

बलग भित्र खोज्नुहोस् ।