स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...
स्याङ्जा, असार २,
सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली समाज, दक्षिण कोरियाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका-९ मा रहेको कृष्ण आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्दै रु. ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
ई.स. २०१५ मा दक्षिण कोरियाको ख्योङसाङनाम्दो प्रान्तअन्तर्गत मिर्याङ शहरमा स्थापना भएको मिर्याङ नेपाली समाज प्रारम्भमा केही युवाको संघर्षपूर्ण प्रयासबाट सुरु भएको थियो। विदेशमा रहँदा आउने समस्यासँग लड्ने, चाडपर्वको खाँचो र भावनात्मक दूरी घटाउने साथै आपसी भाइचारा र सहयोगको सिङ्गालो मेट्न स्थापना भएको यो संस्था आज सामाजिक उत्तरदायीत्वमा अग्रसर छ।
कोरियामा रहेका नेपालीहरूसँग भाइचारा, सद्भाव, आपसी सहयोग र सामाजिक सेवाको भावना जगाउने प्रयासमा समाजले नेपाली राजदूतावासको घुम्ती शिविर, हरितालिका तीज, विजयादशमी, वनभोज, जेजुदो भ्रमण, खेलकुद र सांस्कृतिक कार्यक्रम जस्ता थुप्रै कार्यक्रम गर्ने गरेको छ।
यस्तै गरेर संकलित कोषलाई संस्थाले व्यक्तिगत आपत्कालीन सहयोग देखा परेदेखि नेपाल पुगेको प्रकोपमा राहत दिनसम्म प्रयोग गर्दै आएको छ।
मिर्याङ नेपाली समाजले नेपालको ग्रामीण र पिछडिएका समूदायका विद्यालयमा दीगो शिक्षा प्रवर्धनको लक्ष्यसहित "अक्षयकोष-२०२५" कार्यक्रमअन्तर्गत देशभरका दश वटा आधारभूत विद्यालयमा रु ५०,००० (पचास हजार ) को दर बनाएर अक्षयकोष खोलेको छ। यस्तै कोष स्याङ्जाको कृष्ण आधारभूत विद्यालयमा पनि सहयोग गरिएको छ। प्रधानाध्यापक गंगाराम खनालले सो सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति र आवश्यकता अनुसार पढाइका सामानमा सहायता पुग्ने विश्वास जनाए।
मिर्याङ समाजका तर्फबाट रसिक पाण्डे र परासर भट्टराईको विशेष पहलमा सम्पन्न यो सहयोग कार्यक्रम समाजका अध्यक्ष असिम पुन मगर, निवर्तमान अध्यक्ष साजन थापा र सम्पूर्ण टिमको सक्रियतामा सम्पन्न भएको हो।
शिक्षा क्षेत्रको विकासमा वैदेशिक नेपाली समुदायको प्रत्यक्ष तथा दीर्घकालीन योगदानको एक उदाहरण बनेको छ मिर्याङ नेपाली समाजको यो प्रयास। ‘हामी जहाँ भए पनि, देशलाई सम्झन नछाडौं’ भन्ने भावनाले सञ्चालित यस्तो सहयोगले देशको शिक्षामा सकारात्मक परिवर्तन ल्याउनेमा विश्वास गर्न सकिन्छ।