पाल्पा, पाल्पामा जारी निषेधाज्ञा आगामी जेठ २४ गते सम्मको लागि थप भएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढे संगै गत बैशाख १७ गते देखि पाल्प...
पाल्पा, पाल्पामा जारी निषेधाज्ञा आगामी जेठ २४ गते सम्मको लागि थप भएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढे संगै गत बैशाख १७ गते देखि पाल्पामा जारी निषेधाज्ञा तेस्रो पटक थप भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) पाल्पाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिने निर्णय गरेको हो ।
सुरुवातमा डिसिसिएमसि पाल्पाको गत बैशाख १५ मा बसेको बैठकले बैशाख १७ गते राती १२ बजे देखि २४ गते राती १२ बजे सम्म आह्वान गरेको थियो । त्यस पछि २३ गतेको बैठकले थप गरेर जेठ ४ सम्म, जेठ ३ गतेको बैठकले जेठ १५ गते सम्म र शुक्रबार बसेको बैठकले २४ गते राती १२ बजे सम्म पु¥याएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्नु भएको छ ।
आदेश अनुसार निषेधाज्ञामा स्वास्थ्य, संचार, विद्युत, खानेपानी, सरसफाई सेवा बाहेक बैंक तथा वित्तिय संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु, होटेल तथा रेष्टुरेण्टहरु विहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्ला हुनेछ । मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुनेछ । उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन । विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्नु पर्नेछ । जसमा १० जना भन्दा बढी सहभागी हुन पाईने छैन । विकास निर्माणका कार्यमा निर्माण स्थलमा क्याम्प खडा गरेर कामदारलाई राख्ने वातावरण मिलाउनु पर्नेछ ।
त्यस्तै प्रशासनले अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्ष कैद वा ५ लाख रुपैयाँ सम्म जरिवाना वा दुर्व सजाय हुने जनाएको छ । त्यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा छ महिना सम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुर्व सजाय हुने, दिईएको आदेश पालना नगर्ने व्यक्ति भए एकलाख रुपैयाँ सम्म र संस्था भए ५ लाख सम्म तत्काल जरिवाना हुने, माक्स नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लघंन गरेमा पटकै पिच्छे दुई सय, सवारी साधन आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई विरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी चलाए पटकै पिच्छे दुई पांग्रेलाई दुई हजार र अन्य सवारीलाई पाँच हजार सुरक्षाकर्मीले तत्कालै जरिवाना गर्नेछ ।
साथै सुरक्षाकर्मीले निश्चित समय सम्म नियन्त्रणमा दिन सक्ने छ । साथै अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजाय संगै प्रमुख जिल्ला अधिकारीले छ महिना सम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछ ।