पाल्पा, रामपुर नगरपालिकाको नवौँ नगर सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम संगै ७४ करोड ६४ लाख ६१ हजार बराबर...
पाल्पा,
रामपुर नगरपालिकाको नवौँ नगर सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम संगै ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै नगर सभा सकिएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको बताउनुभयो । कोरोना महामारी विरुद्धको लडाई अहिलेको आवश्यकता भएकाले जनताको जिवन रक्षा गर्न आधारभुत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको बताउनुभयो । साथै उहाँले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका युवाहरुका लागी उत्पादनशिल कार्यमा लगाउन कृषि तथा उद्यम व्यवस्थापन गरि आयआर्जन तथा रोजगार प्रवद्र्धनका लागी आगामी निति तथा कार्यक्रममा प्राथमिकता दिईएको बाताउनुभयो । त्यस्तै नगरपालिकाले कोभिडको कारण बाट मृत्यु भएका परिवारको सदस्यलाई व्यवसायिक कृषि तथा पशुपन्छीपालनमा अनुदान उपलब्ध गराउने नीति लिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले पूर्वाधार विकास तर्फ प्रत्येक वडामा एक गौरवको योजना, अन्तरपालिका साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै वस्ती तथा टोलको पहिचान र वडा समितिको प्राथमिकतामा सिफारिश भएका योजनाहरु कार्यान्वयनका लागि बजेट उपलव्ध गराउने नीति अबलम्बन गरेको छ । नगरपालिकालाई उज्यालो बनाउन सडक बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिनुका साथै सोलार प्रणाली विस्तारका लागि बैकल्पिक ऊर्जा तथा सरोकारवाला निकायको सहकार्य गर्ने भएको छ । स्थानीय सडक, ग्रामीण सडक र कृषि सडकलाई स्तरोन्नती गरि कृषि उत्पादन वृद्धि र बजारीकरणमा सहजता बनाउन जोड दिइदै लगिने, एक वडा एक रंगरोगन प्रयोग गर्ने नीति अबलम्बन गर्ने, नगर भित्रका खोलानाला र कालीगण्डकीलाई प्रदुषणबाट जोगाउनका लागि ढल विनाको शहर अवधारणालाई निरन्तरता दिईने नीति लिएको छ ।
नगरपालिकाबाट पास गरिने नक्साहरुलाई स्वचालित तथा व्यवस्थित बनाउन नक्सा पास प्रक्रियालाई अनलाईन सेवामा आवद्ध गर्ने भएको छ । नगरपालिकाले खरको छाना रहित बनाउन यसै आर्थिक वर्ष भित्र सबै खरको छाना भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गर्ने र जस्तापाता अनुदानको व्यवस्था मिलाई यसै वर्ष खरको छानो मुक्त बनाउने घोषणा गरेको छ । त्यस्तै शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ को पूर्ण पालना गराई, २.२ आना भन्दा कम जग्गामा बनेका घर तथा जग्गामा दोव्बर दस्तुर लिई घर बनेको प्रमाणीत गर्नेछ ।
नगरपालिकाले शिक्षाको सुधारको लागि प्रत्यक्ष रुपमा सिकाइ नहुने अवस्थामा बैकल्पिक सिकाइ सहजिकरणलाई प्रभावकारी बनाई अध्ययन अध्यापनमा दुर शिक्षा र प्रविधिको प्रयोग समेत गर्ने नीति अवलम्बन गर्ने भएको छ । “एक वडा एक बालमैत्रि कक्षाकोठा” भन्ने नाराका साथ प्राथमिक विद्यालयका सम्बन्धित शिक्षकहरुलाई बालमैत्रि शिक्षण तालिम दिइने भएको छ । शहिद बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको शैक्षिक हवको रुपमा विकास गर्न आवश्यक पहल गर्ने भएको छ । मेयरसँग बालबालिका कार्यक्रम मार्फत एक विद्यार्थी १ गमला कार्यक्रम सञ्चालन गरिने भएको छ । “हाम्रा जनप्रतिनिधी, हाम्रा शिक्षक हाम्रा बाबुनानीको संरक्षक” कार्यक्रम मार्फत छात्रवृत्ति वितरण, विद्यालयमा वडा अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिने भएको छ । आगामी आर्थिक वर्ष देखि नै सामुदायिक बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता न्यूनतम तलब १५ हजार प्रदान गरिने भएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट (मापदण्ड) पुगेका विद्यालयलाई नगर नमुना विद्यालय घोषणा गरी कम्तीमा तीन वर्षमा नगरपालिकाले तोकिएको रकम विनियोजन गरिने भएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ नगरका सम्पूर्ण नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागि एंव कोभिड–१९ बाट सुरक्षित राख्न खोप खरिदको लागि आवश्यक पहल गर्ने नीति लिएको छ । महिला स्वास्थ्य स्वंयम सेविका तथा स्वास्थ्यकर्मीलाई सुविधा थप र पुरस्किृत गर्दै नमूना स्वास्थ्य संस्थाहरुमा अवलोकन भ्रमणको व्यवस्था मिलाईनेछ र ६० वर्ष उमेर पुगेका म.स्वा.से लाई प्रोत्साहन सहित स–सम्मान विदाई गरिने भएको छ । चूर्ण औषधी निर्माणको थालनी समेत गर्ने नीति लिएको छ । एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
शुद्ध खानेपानीमा पहुँच भएको जनसंख्या बृद्धिका लागि सह–लगानीका खानेपानी आयोजनामा नगरपालिकाको तर्फवाट सहभागिता जनाउने नीति अवलम्वन गरेको छ । सबै प्रकारका धार्मिक संरचनाहरु मठमन्दिर, मस्जिद चर्चको संरक्षण तथा संबर्द्धनका लागि भौतिक अवस्था पहिचान गरि आवश्यकताको आधारमा भवन निर्माण/मर्मत शिर्षकमा रकम विनियोजन गर्ने भएको छ ।
एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी बढाइने भएको छ । वडा र नगरस्तरमा युवा समिति गठन गरी नमुना युवा संसद सञ्चालन गरी शुरु देखि नै युवाहरुलाई सरकारका अंगहरुको अभ्यास गराई युवाहरुलाई सामाजिक कार्यमा समर्पित गराइने नीति लिएको छ । “उप–मेयरको कोसेली–सिपबाट हुनेछ दिगो आर्थिक आम्दानी“ भन्ने नारालाई आत्मसाथ गर्दै उप–मेयर कासेली कार्यक्रम शिर्षक अन्तरगत महिलाहरुका लागि न्यूनतम सशक्तिकरणका आयामहरु (लैगिंक समता, प्रजनन स्वास्थ्यता, जीवनोपयोगी शिक्षा, पुगीसरी सम्पन्नता र संस्थागत सहभागीता) लाई अबलम्बन गर्दै क्षमता विकास, सिप तथा व्यवसायीकता विकास तालिमहरु सँगै महिलामैत्री व्यवसायीक उपकरणहरु उपलब्ध गराईने नीति लिएको छ । कृषि तर्फ एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिएको छ । बाँदरको समस्या रहेको क्षेत्रमा अदुवा÷ बेसार, कागती तथा अन्य नगदेबालीलाई प्रोत्साहन गर्ने भएको छ । नगर प्रमुख थापाले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम नगरसभा बाट सर्वसहमतिले पारित गरेको हो ।