स्याङ्जा, १५ चैत । चापाकोट अस्पतालमा दन्त सेवा सञ्चालनमा आएको छ । अस्पतालले छुट्टै दन्त विभाग स्थापना गरी बुधबारबाट दन्त सेवा सञ्चालनमा ल्...
स्याङ्जा, १५ चैत । चापाकोट अस्पतालमा दन्त सेवा सञ्चालनमा आएको छ । अस्पतालले छुट्टै दन्त विभाग स्थापना गरी बुधबारबाट दन्त सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालमा यो सेवा थप्नका लागि रोटरी क्लव अफ काठमाडौं नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अफ उकु जिङ्जोङ, न्यु ताइपे ताइवान डिस्ट्रिक ३४९० को र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी) विशेष सहयोग रहेको छ ।
बुधबार अस्पतालमा आयोजित विशेष समारोहमा सहभागी हुन पुगेका चापाकोटका नगर प्रमुख देवबहादुर खाँड (ईश्वर) र रोटरी क्लव अफ् काठमाडौँ नर्थका पूर्व अध्यक्ष समेत रहेका कान्तिपुर डैन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा दन्त सेवाको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै नगर प्रमुख खाँडले चापाकोटमै विशिष्टकृत रुपमा दाँतको उपचार हुने गरी सेवा लिन पाउने अवसर आजबाट सिर्जना भएको भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । उनले सञ्चालनमा आएको सेवालाई निरन्तरता दिन आफ्नो तर्फबाट गर्नु पर्ने सहयोगमा कमि नहुने बताए ।
केडीसीका अध्यक्ष एवं रोटरियन डा श्रेष्ठले मुख स्वास्थ्यको महत्वको बारेमा चर्चा गर्दै चापाकोटमा यो सेवा शुभारम्भ हुनु नगरवासीका साथै छिमेकी जिल्ला पाल्पा तथा तनहुँ तथा नवलपरासीका बासिन्दाका लागि समेत फाइदाजनक रहेको बताए । उनले मुख तथा दन्त स्वास्थ्य उपचारका लागि रोटरी क्लब , रोटरी ईन्टरनेशनल र यसका कार्यक्रमहरु सहयोगी बनेको बताए ।
त्यसअघि अस्पतालका मेसु डा. सुमनले चापाकोट अस्पतालमा दन्त स्वास्थ्य सेवा धेरै आवश्यकता थियो भन्दै यो विभाग स्थापना तथा सञ्चालनका लागि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरे । अस्पतालका बरिष्ठ मेडिकल अधिकृत डा. बिक्रम तिवारीले सबै मिलेर गए चापाकोटकै स्वास्थ्य राम्रो हुने भन्दै सेवा सञ्चालनका लागि पनि यसैगरी साथ सहयोग प्राप्त होस भन्दै विश्वास व्यक्त गरे ।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव खनालले नगर प्रमुख, आफू र पूर्व वडा अध्यक्ष शंकरभक्त भण्डारीले केडीसीका अध्यक्ष डा श्रेष्ठसंग दन्त सेवाका लागि सहयोग माग गरेको र तत्कालै सो माग पुरा भएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका बिभिन्न वडाका जनप्रतिनिधि, अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु, राजनैतिक दलका प्रतिनिधिहरु , पत्रकार, शिक्षक तथा बुद्दिजिवीहरु , महिला स्वास्थ्य स्वयंसेविकाहरु र ईलाका प्रहरी कार्यालय चापाकोटका ईन्चार्ज लगायतको उपस्थिति थियो ।