चापाकोट, २८ माघ । “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” मा अपाङ्गता भएका व्यक्तिले प्रवेश निःशुल्क पाउने भएका छन् । “हाम्रो शान ह...
चापाकोट, २८ माघ । “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” मा अपाङ्गता भएका व्यक्तिले प्रवेश निःशुल्क पाउने भएका छन् ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवमा अपाङ्गता भएका व्यक्तिले प्रवेश निःशुल्क पाउने भएका छन् ।
अपाङ्गता परिचय पत्रको आधारमा प्रवेश निःशुल्क गरिएको चापाकोट अपाङ्ग संघको अध्यक्ष सुनिता थापाले बताउनुभयो ।
अपाङ्गता मैत्री बनाउने बिषयमा मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघको अध्यक्ष निर्मल रानासँग छलफल गरि सहमति भएको अध्यक्ष थापाको भनाई छ ।
उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति पनि राज्यका नागरिक हुन् । उनीहरुले पनि अरु नागरिक बराबर सहभागिता जनाउन पाउनुपर्छ । हाम्रो समाजमा रहेका सबै वर्गका नागरिकहरुलाई बुझेर समाजमा हुने कार्यक्रम, गोष्ठी, मेला, महोत्सव लगायत सार्वजनिक कार्यालयका भवनहरु अपाङ्ग मैत्रीपूर्ण हुनुपर्छ ।”
अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अपाङ्गता परिचय पत्र साथमा लिगेर महोत्सव हेर्न आउन अध्यक्ष थापाले आग्रह गर्नुभएको छ ।
महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरेर तीब्रताका साथ काम भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले बताउनुभयो ।
गाउँ– गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने चापाकोट उद्योग वाणिज्य संघको सचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।