पाल्पा, अविरल वर्षाद संगै खसेको पहिरोले रामपुर नगरपालिका ७ कटहरबारी टोलमा क्षति गरेको छ । बस्ती भन्दा माथिल्ले भाग बाट खसेको पहिरोले १ घर ...
अविरल वर्षाद संगै खसेको पहिरोले रामपुर नगरपालिका ७ कटहरबारी टोलमा क्षति गरेको छ । बस्ती भन्दा माथिल्ले भाग बाट खसेको पहिरोले १ घर पूर्णमा क्षति हुनुका साथै अन्य ६ जोखिममा परेको छ ।
बुधबार राती ३ बजे देखि खसेको लेदो सहितको पहिरोले स्थानीय रेशमराज पंगेनीको घर पूर्ण रुपमा क्षति गरेको छ । त्यस्तै ज्ञान बहादुर3 भट्टराई, प्रेमराज भट्टराई, केशवराज भट्टराई, इश्वरी भट्टराई, चन्द्र प्रकाश पंगेनी र गोविन्द पंगेनीको आंशिक क्षति गर्नुका साथै घर समेत उच्च जोखिममा पारेको हो ।
गत वर्ष सोही स्थानमा पहिरो खसेको थियो । जोखिम भएकाले रेशमराजको ४ जनाको परिवार केही दिन अघिको वर्षाद संगै मल्याङ टोलमा बस्न सुरु गरेको थियो । केशवराज, चन्द्र, गोविन्दको परिवारले पनि अन्यत्र बसेर पछिल्लो समय खेतीपाती मात्र गर्दै आएको थियो । राती पहिरो खस्न सुरु गरे पछि हाल बसोबास गर्दै आएको ज्ञान बहादुर, प्रेमराज र इश्वरीको परिवार अन्यत्र गएर बसेको स्थानीय प्रकाश सुनारले जानकारी दिनुभयो ।
रेशमराज भट्टराईको घरमा रातीकोले आंशिक क्षति गरेको थियो । दिउँसो स्थानीयहरुको सहयोगमा सामान निकाल्दा निकाल्दै पहिरो सहितको भेलले थप क्षति गरेको सुनारले बताउनुभयो । त्यस्तै सोही पहिरोले ज्ञान बहादुर भट्टराईको घरमा आंशिक क्षति पुगेको बताउनुभयो । रेशमराजका छोरा सुरज पंगेनीले धान लगाएतका अन्नहरु निकाले पनि गेडागुडीहरु निकाल्न नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष पहिरो आए पछि केही तल बस्ने घर बनाएका थियौं । सबै सामान पुरानै घरमा थियो । दुई चार दिन अघि देखि अर्को घरमा बास बस्न थालेका थियौं । धन्न त्यसैले गर्दा ज्यान जोगियो ।’ पुर्खा देखि नै सोही स्थानमा बस्दै आउँदा केही नभएको तर माथिल्लो भागमा सडक खन्न थाले पछि जोखिम पहिरो खस्न थालेको बताउनुभयो । ज्ञान बहादुर, प्रेमराज र इश्वरीको परिवार स्थानियको सहयोगमा सुरक्षित स्थानमा सरेको छ ।