पाल्पा, रामपुर – रामपुर नगरपालिकामा १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसाको लागतमा आधुनिक सुविधा सम्पन्न पार्क निर्माण हुने भएको छ।...
नगरपालिकाको बेजाड बजारको मध्य भागमा निर्माण हुन लागेको यो पार्कले स्थानीय बासिन्दा र आगन्तुकहरूलाई आरामदायी वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित का अनुसार, ग्रामिण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाअन्तर्गत शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश बाट प्राप्त २६ करोड ७१ लाख रुपैयाँको बजेट मध्ये उक्त पार्कको निर्माणका लागि १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसा विनियोजन गरिएको छ।
पार्कभित्र नगरपालिकाको कम्पाउण्ड रहनेछ भने दुईवटा चौपारी, पानीको फोहोरा र विभिन्न फलफूलका बिरुवा समेत रोपिने नगर प्रमुख थापाले जानकारी दिनुभयो। यो पार्क निर्माणपछि नगरको सौन्दर्य वृद्धिसँगै नागरिकहरूलाई स्वस्थ मनोरञ्जनका लागि महत्त्वपूर्ण स्थान उपलब्ध हुने विश्वास गरिएको छ।