पाल्पा – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विद्युत् प्रसारण लाइन निर्माण गर्न पाल्पामा चार हजारभन्दा बढी रुख काटिने भएको छ। ...
डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार सामुदायिक, कवुलियती तथा सरकारी वनमा पर्ने रुखहरू हटाइनेछन्। परियोजनाको आवश्यकताअनुसार ७४ वटा विद्युत् टावर स्थापना गर्न वन क्षेत्रमा पर्ने रुखहरू कटान गरिनेछ।
वन कार्यालयका अनुसार ८३.३३ हेक्टर वन क्षेत्र एमसीसी परियोजनाअन्तर्गत एमसिए नेपाललाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि निस्दी गाउँपालिकाका १२ र रामपुर नगरपालिकाका ८ वटा वन क्षेत्रभित्रका रुखहरू हटाइने सहमति भएको छ।
रुख कटानको प्रक्रिया अघि बढ्दै
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार निस्दीका विभिन्न वनहरूबाट २,५३० र रामपुरका वनहरूबाट १,९२५ रुख काटिनेछन्। स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदनका आधारमा रुख कटानको प्रक्रिया अघि बढाइएको हो।
यस परियोजनाका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा स्थलगत अध्ययन गरिसकिएको छ। उक्त अध्ययनकै आधारमा काट्नुपर्ने रुखहरूको सङ्ख्या निर्धारण गरी प्रतिवेदन तयार गरिएको वन कार्यालयले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनाको काम तीव्र
वि.स. २०७४ मा नेपाल सरकार र अमेरिकी सरकारबीच भएको समझदारीअनुसार एमसीसी परियोजनाको काम अघि बढिरहेको छ।
३१५ किलोमिटर लामो यो विद्युत् प्रसारण लाइन परियोजनाले ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नेछ। साथै, तीनवटा सबस्टेसन निर्माण गरिने योजना छ।
प्रसारण लाइनको पूर्वाधार काठमाडौं, पाल्पा, मकवानपुर, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, नवलपुर र परासी गरी १० जिल्लामा विस्तार गरिनेछ। त्यस्तै, तनहुँको दमौली–बुटवल खण्डअन्तर्गत पाल्पा र रुपन्देही जिल्लामा विद्युत् टावर निर्माण गरिनेछ।
बुटवलदेखि भारतको गोरखपुरसम्म पनि प्रसारण लाइन विस्तार गरिने योजना रहेको छ।